काठमाडौं । जाजरकोटमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
जाजरकोटको छेडागाड नगरपालिका–८ बाहार्नाखोलास्थित भित्री सडकखण्डमा क.प्र. ०२–००१ च १३२७ नम्बरको जिप शुक्रबार बिहान करिब ११ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ। छेडागाड नगरपालिका–९ पजारुबाट थलहातर्फ जाँदै गरेको जिप ब्रेक फेल भई सडकबाट करिब १५० मिटर तल खसेको थियो।
दुर्घटनाका बेला चालकसहित छ जना सवार थिए। दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन्। घाइतेहरूको उद्धार गरी उपचारका लागि नगर अस्पताल बडाबन पठाइएको प्रहरीले जानकारी दिएको छ।
मृत्यु हुनेमा छेडागाड नगरपालिका–९ पजारुकी ७० वर्षीया नन्दकला अधिकारी र सोही स्थानका २८ वर्षीय राजु अधिकारी रहेका छन्।
दुर्घटनामा घाइते हुनेहरूमा जिप चालक छेडागाड नगरपालिका–९ का २४ वर्षीय कृष्ण अधिकारी, २० वर्षीया लक्ष्मी खत्री, ३९ वर्षीय वीरबहादुर अधिकारी र दैलेखको नौमुले गाउँपालिका–६ की २३ वर्षीया सितला रावत रहेका छन्।
















