काठमाडौँ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम तीन दशमलव शून्य अर्थात् ३.० डिग्री सेल्सियस देखिएको हो।
यो सुरुवाती मापन मात्र हो। आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुन: मापन गरिन्छ। त्यतिबेला काठमाडौँको न्यूनतम तापक्रम अहिलेको भन्दा अझ घट्ने सम्भावना हुन्छ। हिजो बिहीबार पनि सुरुवाती मापनमा ३.३ डिग्री सेल्सियस देखिएको काठमाडौँको न्यूनतम तापक्रम पछि बिहान ८:४५ बजे घटेर ३ डिग्री सेल्सियसमा झरेको थियो।
गत मंगलबारदेखि बिहीबारसम्म काठमाडौँको न्यूनतम तापक्रम लगातार ३ डिग्री सेल्सियस रहेकामा आज सुरुवाती मापनमै यति देखिएकाले त्यसभन्दा पनि तल झर्ने सम्भावना देखिन्छ।
बिहीबार सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ८ दशमलव १ अर्थात् -८.१ डिग्री सेल्सियस देखिएको थियो। मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ । सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।




















