विराटनगर । कोसी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ मन्त्रीहरू नियुक्त गरेका छन्। नेपाली कांग्रेसका ५ जना र नेकपा (एमाले)का ५ जना गरी राज्यमन्त्रीसहित कुल १० जनालाई मन्त्री नियुक्त गरिएको हो।
यसअघिका मन्त्रीहरूबाट अपेक्षित काम हुन नसकेको निष्कर्षसहित जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्न सक्ने व्यक्तिहरूलाई मन्त्रीको जिम्मेवारी दिइएको बताइएको छ।
नेकपा (एमाले)तर्फबाट विदुरकुमार लिङ्थेप आर्थिक मामिला तथा योजना मन्त्री, चिन्तन पाठक खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री, इन्द्रमणि पराजुली आन्तरिक मामिला तथा कानुन मन्त्री, रामप्रसाद मेहता सामाजिक विकास मन्त्री तथा उमाकान्त गौतम आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री नियुक्त भएका छन्।
त्यसैगरी नेपाली कांग्रेसतर्फबाट प्रदीप सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री, मानबहादुर लिम्बू स्वास्थ्य मन्त्री, इस्राइल मन्सुरी उद्योग, कृषि तथा सहकारी मन्त्री, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री तथा शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा नियुक्त भएका छन्।
नियुक्त मन्त्रीहरूलाई हाल सपथ ग्रहण गराइँदै छ। मुख्यमन्त्री कार्कीले मन्त्री नियुक्ति तथा जिम्मेवारी हेरफेरबारे कोसी प्रदेश प्रमुखसमक्ष जानकारी गराएपछि प्रदेश प्रमुखको कार्यालयमा सपथ कार्यक्रम तय गरिएको हो।





















