काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगर क्षेत्रमा आज बिहान ८ बजेदेखि लागू कर्फ्यु आदेशलाई दिउँसो १ बजेसम्मका लागि थप गरेको छ।
सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्म जारी कर्फ्यु आदेशलाई निरन्तरता दिँदै थप समय तोकिएको हो। कर्फ्यु वीरगंज महानगरपालिकाअन्तर्गत पूर्वमा बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक तथा दक्षिणमा शंकराचार्य गेटसम्म लागू गरिएको छ। यस अवधिमा कुनै पनि प्रकारका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।
दुई समुदायबीच सम्भावित झडप हुनसक्ने अवस्थालाई ध्यानमा राख्दै कर्फ्यु जारी गरिएको प्रमुख जिल्ला अधिकारी भोला दाहालले जानकारी दिए। पछिल्लो समय वीरगंजमा विरोध प्रदर्शनका गतिविधि बढ्दै गएपछि सुरक्षा अवस्था संवेदनशील बन्दै गएको प्रशासनको भनाइ छ।
कर्फ्यु अवधिमा सर्वसाधारणलाई घरबाहिर ननिस्कन र आवतजावत नगर्न निर्देशन दिइएको छ। आदेश उल्लङ्घन गर्नेहरूमाथि कानूनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।




















