काठमाडौँ । रोल्पामा विद्यार्थी सवार जिप दुर्घटना हुँदा दुई बालबालिकाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दुर्घटना शनिबार राति करिब १० बजे भएको हो।
राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी भएर फर्किँदै गरेका विद्यार्थी सवार ग.१ ज ६६६६ नम्बरको बोलेरो जिप सुनछहरी गाउँपालिका–१ सेरमबाट सुनछहरी–४ स्युरीतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो। उक्त जिपमा नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थी सवार थिए।
जिल्ला प्रहरी कार्यालय रोल्पाका इन्सपेक्टर सुनिल थापा नेपालीका अनुसार दुर्घटनामा परी सुनछहरी गाउँपालिका–४ स्युरीका १२ वर्षीया दीपा पुन र १२ वर्षीय सुनिल बिकको मृत्यु भएको हो। घाइते अवस्थामै उनीहरूलाई उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौर पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा घाइते भएका नौ जना विद्यार्थीलाई थप उपचारका लागि बुटवलस्थित सिटी अस्पताल लगिएको प्रहरीले जनाएको छ।
घटनापछि प्रहरीले जिप चालक रोल्पाको लुंग्री गाउँपालिका–७ निवासी २५ वर्षीय मन्सुर घर्तीलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















