ललितपुर। ललितपुरस्थित नख्खु कारागारबाट जेन-जी आन्दोलनको क्रममा फरार भएका कैदीबन्दीमध्ये ३० प्रतिशत अझै सम्पर्कमा आएका छैनन् ।
गत भदौ २४ गते नख्खु कारागारबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गृह सचिवको नक्कली कागज देखाएर कारागारबाट कार्यकर्तासहित बाहिरिएपछि त्यसको देखासिकी गर्दै विभिन्न मुद्दामा दोषी ठहर भई सजाय भोगिरहेका एक हजार दुई सय ८० जना कैदीबन्दी फरार भएका थिए ।
कारागार प्रशासनका अनुसार हालसम्म तीमध्ये रविसहित ७० प्रतिशत कैदीबन्दी स्वेच्छाले वा सुरक्षा निकायको समन्वयमा कारागार फर्किसकेका छन् भने बाँकी ३० प्रतिशत अझै फरार अवस्थामा छन् । रवि अहिले धरौटीमा रिहा भएका छन् ।
नख्खु कारागारका प्रमुख दीर्घराज उपाध्यायका अनुसार फरार कैदीबन्दीको खोजीकार्य निरन्तर जारी छ ।
उनले भने, “फरार कैदीबन्दीको खोजी नेपालभित्र मात्र नभई मुलुक बाहिरसम्म पनि भइरहेको छ । कानुनअनुसार सबै फरार कैदीबन्दीलाई कारागार फर्काउने अभियानमा हामी सक्रिय छौँ ।”
कारागार विभागले तोकेको समयसीमा अनुसार गत असोज २० गतेसम्म कारागारमा नफर्कने कैदीबन्दीलाई कारागार ऐन, २०७९ तथा अन्य प्रचलित कानुनअनुसार कारबाही गरिने जानकारी यसअघि सार्वजनिक गरिएको थियो ।
कारागार प्रशासनले फरार कैदीबन्दीको खोजी तथा नियन्त्रणमा सहयोग गर्न कैदीबन्दीका परिवारजन, सुरक्षा निकाय, स्थानीय तह, सञ्चारमाध्यम, सम्बन्धित सरकारी कार्यालय तथा सरोकार भएका सबै पक्षलाई सहयोगका लागि आग्रह गरेको छ । (रासस)




















