काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा एलपी ग्यास बोकेको बुलेट दुर्घटनामा परेपछि सवारी आवागमन अवरुद्ध भएको छ।
मंगलबार बिहान ७ः५० बजे पूर्वतर्फबाट आउँदै गरेको युपी १७ ए २१४ नम्बरको ग्यास बुलेट दुर्घटनामा परेको हो। दुर्घटनापछि बुलेट सडकमै तेर्सो परेको छ। घटनामा चालक सामान्य घाइते भएका छन्।
दुर्घटनापछि ग्यास लिक भइरहेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सो सडकखण्डमा सवारी साधनको आवागमन पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीले सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।
ग्यास लिकका कारण आगलागीको जोखिम रहेकाले दमकल र बुलेट हटाउन क्रेन परिचालन गरिएको छ। दुर्घटना जंगल क्षेत्रमा भएकाले नजिक कुनै बस्ती भने छैन।
स्थिति पूर्ण रूपमा सुरक्षित नभएसम्म राजमार्ग खुलाइने छैनन् इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी डिएसपी रूपा लाबुङले जानकारी दिइन्।

























