विराटनगर । मोटरसाइकल दुर्घटनामा परेर कोशी प्रदेशका चर्चित क्रिकेटर मिनष थापाको निधन भएको छ। बिहीबार बिहान विराटनगर महानगरपालिका–४ अन्तर्गतको भित्री सडक खण्डमा भएको दुर्घटनामा २७ वर्षीय थापाको ज्यान गएको हो।
प्रहरीका अनुसार विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १–०२–०४२ प ८००२ नम्बरको मोटरसाइकल राति करिब पौने १ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको थियो। गम्भीर घाइते भएका उनलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले मृत घोषणा गरेका हुन्।
थापा कोशी प्रदेशका उत्कृष्ट क्रिकेट खेलाडीमध्ये एक थिए। उनले विराटनगर किङ्सबाट पोखरा प्रिमियर लिग खेलिसकेका थिए भने कोशी प्रदेशको प्रतिनिधित्व गर्दै अन्य फ्रेन्चाइज लिगहरूमा समेत सहभागिता जनाएका थिए।

























