विराटनगर । राजावादी नेता तथा पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन भएको छ । ८८ वर्षीय मण्डलको मंगलबार विराटनगर महानगरपालिका–९ स्थित आफ्नै निवासमा निधन भएको हो ।
मण्डल नेपाल सद्भावना पार्टी (नेपाल) का पूर्व कार्यवाहक अध्यक्षसमेत हुन् । उनी पूर्वराजा वीरेन्द्र वीरविक्रम शाह र राजा ज्ञानेन्द्र शाह दुवैको विश्वास प्राप्त गर्दै पटक–पटक राजकीय जिम्मेवारीमा पुगेका थिए । २०६१ सालमा राजा ज्ञानेन्द्रले गठन गरेको मन्त्रिपरिषद्मा उनी तेस्रो वरियतासहित कृषि मन्त्री बनेका थिए । पछि उपप्रधानमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका थिए ।
गणतन्त्र स्थापनापछि केही समय निष्क्रिय बनेका मण्डल पुनः गजेन्द्र नारायण सिंहद्वारा स्थापित सद्भावना पार्टीको राजनीतिमा फर्किएका थिए । जीवनको उत्तरार्धमा उनी पुनः राजावादी धारमै सक्रिय देखिएका थिए ।
राजनीतिक यात्रामा मण्डल मोरङ जिल्लाका प्रभावशाली नेता मानिन्थे । तत्कालीन मोरङ जिल्ला सभापति रहेका उनी २०३८ सालमा राजपरिवारसँग नजिकिएपछि अर्थ सहायक मन्त्री बनेका थिए । त्यसपछि २०४३ सालमा कानुन तथा न्याय मन्त्रीको जिम्मेवारी पनि सम्हालेका थिए । पञ्चायतकालमा उनी पटक–पटक मन्त्री बनेका थिए ।
मधेशी समुदायबाट गृहमन्त्री र उपप्रधानमन्त्री बन्ने पहिलो व्यक्ति मण्डल नै हुन ।
२०५६ सालको संसदीय निर्वाचनमा मण्डलले तत्कालीन मोरङ क्षेत्र नम्बर ५ बाट नेपाली कांग्रेसकी नेतृ शैलजा आचार्यलाई पराजित गरेका थिए । कुनै समय पूर्वी नेपालमा निकै प्रभावशाली रहेका उनी २०४६ सालको राजनीतिक परिवर्तनपछि भने क्रमशः कमजोर बन्दै गएका थिए ।
मण्डलका दुई श्रीमती, चार छोरा र तीन छोरी छन् । चार छोरामध्ये एकको यसअघि नै निधन भइसकेको छ ।
पूर्वउपप्रधानमन्त्री मण्डलको निधनसँगै नेपाली राजनीतिले पञ्चायतकालदेखि राजावादी धारसम्मको लामो यात्राका एक अनुभवी पात्र गुमाएको छ ।

























