काठमाडौँ । पछिल्ला दिनहरूमा तराई–मधेशमा अत्यधिक चिसो बढेपछि जनजीवन प्रभावित भएको छ । चिसो हावा र बाक्लो हुस्सुका कारण विशेषगरी बालबालिका, वृद्धवृद्धा तथा दैनिक ज्यालामा निर्भर नागरिक बढी प्रभावित भएका छन् । यस अवस्थालाई मध्यनजर गर्दै बारा, पर्सा र रौतहटका विभिन्न स्थानीय तहले केही दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
पर्सामा वीरगञ्ज महानगरपालिका, पोखरिया नगरपालिका तथा पकहामैनपुर र छिपहरमाई गाउँपालिकाले चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै जाडो बिदा दिएका छन् । वीरगञ्ज महानगरपालिकाले पुस ७ देखि ९ गतेसम्म तीन दिनका लागि सामुदायिक र संस्थागत सबै विद्यालयमा पठन–पाठन स्थगित गरेको छ । महानगरपालिकाका अनुसार यो बिदा वार्षिक बिदाबाट कट्टा हुनेछ । त्यसपछि पुस १० गते क्रिसमसको सार्वजनिक बिदा, पुस ११ गते शैक्षिक क्यालेन्डरअनुसारको बिदा र पुस १२ गते शनिबार परेकाले पुस १३ गतेदेखि मात्र विद्यालय नियमित रूपमा सञ्चालन हुनेछन् ।
पकहामैनपुर गाउँपालिकाले पुस ८ र ९ गते दुई दिन तथा छिपहरमाई गाउँपालिकाले पनि सोही मितिमा दुई दिन जाडो बिदा दिएको जनाएको छ ।
बारामा परवानीपुर गाउँपालिकाले चिसोका कारण विद्यालयमा विद्यार्थीको उपस्थिति न्यून भएपछि पुस ७ देखि ११ गतेसम्म पाँच दिनका लागि सबै सामुदायिक र संस्थागत विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यस्तै, सिम्रौनगढ नगरपालिकाले पनि अत्यधिक चिसोका कारण पुस ७ र ८ गते दुई दिन सबै विद्यालयमा पठन–पाठन स्थगित गरेको छ ।
रौतहटमा गौर नगरपालिकाले पनि बढ्दो चिसोलाई ध्यानमा राख्दै पुस ८ गतेदेखि शुक्रबारसम्म निजी तथा सामुदायिक विद्यालयमा बिदा दिएको छ । अचानक बढेको चिसोले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भएकाले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।























