काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ का च्याम्पियन लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले कार पुरस्कार प्राप्त गरेका छन् । एनपीएलको उत्कृष्ट नेपाली खेलाडी घोषित भएपछि उनलाई कार पुरस्कार प्रदान गरिएको हो ।
शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो । सोही सिजनभरको उत्कृष्ट प्रदर्शनका आधारमा कप्तान रोहित व्यक्तिगत रूपमा पनि सम्मानित भएका हुन् ।
यस सिजन रोहित पौडेलले ब्याटिङ र बलिङ दुवैमा प्रभावशाली प्रदर्शन गरे । उनले प्रतियोगिताभर २७४ रन जोड्दै १० विकेट लिएका छन् । फाइनल खेलमा उनले ह्याट्रिक विकेट लिँदै टोलीको जितमा निर्णायक भूमिका निभाएका थिए ।























