
नेपालगन्ज । भ्रष्टाचारविरुद्ध क्रियाशील संस्था बास नेपाल २६औँ वर्षमा प्रवेशसँगै आफ्नो रजत वर्ष नेपालगन्जमा विविध कार्यक्रमसहित भव्यतापूर्वक मनाएको छ ।
बासको २५औँ वार्षिकोत्सव तथा रजत समारोह कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी काे प्रमुख आतिथ्यमा सम्पन्न भयो।
समारोहमा मन्त्री भण्डारीले भ्रष्टाचारविरुद्धको अभियान सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सुशासन प्रवर्द्धनमा नागरिक स्तरमै चेतना र संलग्नता आवश्यक रहेको बताए। बास नेपालका क्रियाकलापले युवामा सकारात्मक जागरण फैलाएको उनको भनाइ थियो।
राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटा ले बास नेपाल ७७ वटै जिल्ला र ७ प्रदेशमा फैलिएको प्रभावशाली संस्थामा रूपान्तरित भएको उल्लेख गर्दै स्थानीय सरकारसँगको सहकार्य मार्फत सुशासन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पु¥याइरहेको बताए।
सूचनाका हकका अभियन्ता तारानाथ दाहाल ले सुशासनका क्षेत्रमा बास नेपालको अभियान उत्कृष्ट रहेको उल्लेख गर्दै राज्य कमजोर हुँदा यस्ता संस्थाले मार्गदर्शन गर्ने बताए।
तारानाथ दाहाललाई ‘भ्रष्टाचारविरुद्ध नागरिक सम्मान–२०८२’
रजत वर्षको विशेष अवसरमा बास नेपालले सूचनाका हक प्रवर्द्धन तथा पारदर्शिता अभिवृद्धिमा पु¥याएको महत्वपूर्ण योगदानको कदर गर्दै तारानाथ दाहाललाई ‘भ्रष्टाचारविरुद्ध नागरिक सम्मान–२०८२’ प्रदान गर्यो। सम्मान मन्त्री भण्डारी, पूर्व सूचना आयुक्त बास्कोटा, अभियन्ता केदार खड्का र बास नेपालका अध्यक्ष शिवकुमार वर्माले संयुक्त रूपमा गरे।
विभिन्न क्षेत्रका व्यक्तित्व र संस्थालाई सम्मान
समारोहमा शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारिता, कला, वातावरण, सामाजिक उत्तरदायित्वलगायत विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरिएको छ।
सम्मानितमध्ये ब्राइटल्याण्ड स्कुलका विजय लामा, वरिष्ठ चिकित्सक डा. एम. किदवाई, साहित्यकार सनत रेग्मी, पत्रकार झलक गैरे, फातिमा फाउन्डेसनकी मैमुना सिद्धिकी, कलाकार कमल बिके निर्मोही, इनोभेसन ग्यालरीका समिरमान श्रेष्ठ, सरसफाइ अभियन्ता चक्रबहादुर चन्द, क्लिन–अप नेपालका रविन्द्र लामिछाने, तथा तेजविक्रम शाह प्रमुख छन्।
साथै, पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाद्वारा लिखित कृति ‘खुसीको गारेतो’ लाई पनि सम्मान गरिएको हो।
कर्मचारी, शाखा र स्वयम्सेवक सम्मान
बास नेपालका उत्कृष्ट कर्मचारीका रूपमा शुद्धप्रसाद चौधरी र मिना घर्ती मगर चयन भए। उत्कृष्ट शाखा पुरस्कारमा दैलेख प्रथम, बाँके दोस्रो, बर्दिया तेस्रो तथा दार्चुला सान्त्वना घोषित भए। उत्कृष्ट स्वयम्सेवक पुरुषतर्फ चन्द्रप्रसाद जैसी र महिलातर्फ संगिता विक सम्मानित भए।
यस्तै, बर्दियाका एक नारायण अधिकारी ले विभिन्न चरण पार गर्दै इनोभेटिभ राष्ट्रिय युवा स्वयम्सेवक पुरस्कार हासिल गरे। अधिकारीले ट्रफी, दोसल्ला र नगद रु ५०,००० प्राप्त गरे।
रजत समारोहमा ३५० भन्दा बढी सहभागीको उपस्थिति रहेको कार्यक्रमका क्रममा कर्मचारी मिना घर्ती, शोभा चौधरी, सबिना रोका मगर र कृष्णा विकले सांस्कृतिक प्रस्तुति पनि गरेका थिए।























