काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का दुई ध्रुव—महेश श्रेष्ठ र डा. बद्री केसी समूहबीच आज आइतबार एकता सम्बन्धी सहमतिमा हस्ताक्षर गरिएको छ। सहमति पत्रमा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थिति बीच दुवै नेताले हस्ताक्षर गरेका हुन्।
पछिल्ला केही वर्षयता एनआरएनए दुई समानान्तर नेतृत्वमा चलेको थियो। मुलुकको बदलिएको राजनीतिक परिस्थितिमा दुवै समूह एकताबद्ध हुँदै १० बुँदे सहमति गर्दै एक हुने निर्णयमा पुगेका हुन्। सहमति अनुसार एनआरएनए १२औं महाधिवेशन सन् २०२६ अप्रिल १७ सम्म सम्पन्न गर्नेछ।
सहमति अनुसार डा. केसी नेतृत्वको कार्यसमिति महेश श्रेष्ठ समूहसँग एकता महाधिवेशनमा जानेछ। महाधिवेशनलाई पारदर्शी र विश्वसनीय बनाउन ११ सदस्यीय स्टेयरिङ कमिटी गठन गरिनेछ। कमिटीका सदस्यहरू १२औं महाधिवेशनमा उम्मेदवार नबन्ने उल्लेख छ।
एनआरएनएका एक नेताका अनुसार, “लामो समयदेखिको प्रयास सफल भएको छ। आज बालुवाटारमा प्रधानमन्त्रीको उपस्थितिमा एकताको घोषणा भइसकेको छ। अब विश्वभरका एनआरएनहरूको नेतृत्व महेश श्रेष्ठले गर्नुहुनेछ।”
यसअघि एनआरएनए नेतृत्व र वैधानिकता विषयमा दुवै समूहले अदालतमा दायर गरेका सबै मुद्दा फिर्ता लिने सहमति पनि बनेको छ। १० बुँदे मूल सहमति परराष्ट्र मन्त्रालयका प्रतिनिधिको रोहवरमा हस्ताक्षर गरिएको छ र त्यसलाई मन्त्रालयमै अभिलेखित गरिनेछ।
सहमतिको अनुसार १० बुँदे प्रावधानहरूको कार्यान्वयन संघको विधानअनुसार हुनेछ। कुनै विवाद उत्पन्न भए परराष्ट्र मन्त्रालयसँग समन्वय गरी समाधान गर्ने र आगामी १२औं महाधिवेशनबाट सबै प्रावधान अनुमोदन गराइनेसमेत उल्लेख छ।
सहमतिको पहिलो बुँदामा २०२३ अक्टोबर १७–२० मा सम्पन्न ११औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित डा. बद्री केसीको कार्यसमितिलाई वैधानिक रूपमा स्वीकार्ने निर्णय छ। त्यस्तै, डा. शेष घलेको संयोजकत्वमा २०२५ मे ३–४ मा आयोजित एकता महाधिवेशनबाट महेशकुमार श्रेष्ठको नेतृत्वमा निर्वाचित कार्यसमितिलाई पनि स्वीकारिनेछ।
दोस्रो बुँदामा १२औं महाधिवेशन अप्रिल १७, २०२६ सम्म सम्पन्न गर्ने र श्रेष्ठ नेतृत्वको हालको समितिको कार्यकाललाई पूर्ण कार्यकाल मानिने स्पष्ट उल्लेख छ।
अघिल्लो कार्यसमितिहरू—डा. बद्री केसी, कुल आचार्य, रबिना थापा, विनोद कुँवर र राजेन्द्रकुमार शर्माको अध्यक्षतामा बनेका समितिहरू—लाई पूर्व कार्यसमितिका रूपमा अभिलेखीकरण गरिनेछ।
१२औं महाधिवेशनमा ११औं महाधिवेशनबाट निर्वाचित महासचिव र कोषाध्यक्षले प्रतिवेदन पेस गर्ने र ती प्रतिवेदन डा. बद्री केसीले महेशकुमार श्रेष्ठलाई हस्तान्तरण गर्ने व्यवस्था पनि सहमतिमा समावेश छ।
दुवै पक्षको आर्थिक पाटोलाई पारदर्शी बनाउन स्वतन्त्र तृतीय पक्षबाट अडिट गराइने र १२औं महाधिवेशन तथा निर्वाचनको निष्पक्षता, स्वच्छता र स्वतन्त्रता सुनिश्चित गर्न अतिरिक्त सहमति पत्र तयार गरिने सहमतिमा उल्लेख छ।
सहमति पत्रमा ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री केसी र एकता महाधिवेशनबाट निर्वाचित अध्यक्ष महेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।

























