काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनाएको हो।
जनकपुरका लागि सञ्जय कृष्णमुर्थीले सर्वाधिक ५० रन बनाए। उनले ३८ब लमा ४ चौका र २ छक्का प्रहार गरे। उनले पाँचौँ विकेटको लागि ५५ रनको साझेदारी गर्दै टिमको स्कोर बोर्ड उकासेका थिए।
ओपनर माज सदाकले १२ रन बनाए। अर्का ओपनर आसिफ शेख डकआउट भए। मयन यादव ६ रनमा पेभेलियन फर्किए। निकोल लोफ्टी इटोनले ३९ रन बनाए। आदित्य महताले १५ रन बनाउँदा शुभ कंसाकर डक आउट भए। वायन पर्नेल १४ रन बनाउँदै अन्तिम बलमा क्याच भए। रुपेश सिंह १ रनमा अविजित रहे।
सुदूरपश्चिम रोयल्सका लागि अभिनास बोहोराले सर्वाधिक ४ विकेट लिए। स्क्ट केगुइलिनले ३ विकेट लिँदा दिपेन्द्र सिंह ऐरीले १ विकेट लिए।
सुदूरपश्चिम रोयल्स हालसम्म अपराजित रहेको छ। सुदूरपश्चिमले ४ खेलमा ४ जितसहित अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा काठमान्डु गोर्खाजलाई २९ रनले हराएको थियो। दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई १८ रन, तेस्रो खेलमा कर्णाली याक्सविरुद्ध ४५ रन र चौथो खेलमा लुम्बिनी लायन्सलाई ७ विकेटले हराएको थियो।
जनकपुर बोल्ट्सको यो चौथो खेल हो। जनकपुरले यसअघि कुनैपनि खेल जितेको छैन। पहिलो खेलमा काठमान्डु गोर्खाजसँग ५ विकेटले हारेको जनकपुरले दोस्रो खेलमा विराटनगरसँग ९ र तेस्रो खेलमा पोखरा एभेन्जर्ससाग २५ रनले हार बेहोरेको थियो ।

























