काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को शुक्रबार जारी दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किङ्सलाई जितका लागि १६१ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित ओभरमा तीन विकेट गुमाउँदै १६० रन बनायो।
कर्णालीका लागि ओपनर प्रियांक पन्चाल र तेस्रो नम्बर ब्याट्सम्यान विलियम बोसिस्टोले उत्कृष्ट प्रदर्शन गरे। प्रियांक र बोसिस्टोले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरे।
ओपनर प्रियांक ६३ रनमा आउट भए, जसमा ४७ बल खेलेर २ छक्का र ६ चौका प्रहार गरेका थिए। उनले ४२ बलमा अर्धशतक पूरा गरे। यो प्रियांकको जारी सिजनको एनपीएलमा १६औँ अर्धशतक हो।
विलियम बोसिस्टोले अविजित ४८ रन बनाए, जसमा उनले ४८ बल खेल्दै २ चौका प्रहार गरे। केवल दुई रनको अन्तरले उनले अर्धशतक पूरा गर्न सकेनन्।
चौथो नम्बरमा क्रिज समाल्न आएका गुलसन झाले १० बलमा १ छक्का र २ चौकाको मद्दतले २० रन बनाए। ओपनर मार्क वाट ६ रनमा आउट भए। नजिबुल्लाह जदरान १२ रनमा अविजित रहे। कर्णालीले अतिरिक्त रूपमा ११ रन पनि प्राप्त गर्यो।
विराटनगरका बलर मर्चेन्ट डे लाङ्गे र सन्दीप लामिछानेले समान रूपमा एक/एक विकेट लिए ।

























