काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन पक्षले आगामी वैशाख २७ देखि ३० गतेसम्म पार्टीको नियमित महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेको छ।
पार्टीको अहिले जारी केन्द्रीय समिति बैठकमा संस्थापन समूहको तर्फबाट सहमहामन्त्री महेन्द्र यादवले महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेका हुन्।
यसअघि महामन्त्री गगनकुमार थापाले महाधिवेशन पुस १६ देखि १९ गतेसम्म गर्ने सुझावसहित कार्यतालिका पेस गरेका थिए। तर, कांग्रेसभित्र फागुन २१ गते हुने निर्वाचनअघि महाधिवेशन गर्ने कि पछि गर्ने भन्ने विषयमा मतभेद कायम छ।
यादवले प्रस्तुत गरेको कार्यतालिकाअनुसार—
मंसिर २० गतेसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण,
पुस ५ गतेसम्म नयाँ सदस्यता वितरण,
पुस २० गतेसम्म निर्वाचन समितिलाई क्रियाशील सदस्य विवरण हस्तान्तरण,
चैत १ गते वडा अधिवेशन,
चैत ५ गते पालिका अधिवेशन,
चैत १२ गते प्रदेश क्षेत्रीय अधिवेशन,
चैत २० गते संघीय निर्वाचन क्षेत्रीय अधिवेशन,
चैत ३० गते जिल्ला अधिवेशन,
वैशाख १५ गते प्रदेश अधिवेशन
र अन्ततः वैशाख २७ देखि ३० गतेसम्म १५औं महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरिएको छ।
संस्थापन समूहले नियमित प्रक्रियामार्फत महाधिवेशन सम्पन्न गरी पार्टी एकता र आन्तरिक लोकतान्त्रिक अभ्यास सुदृढ गर्नुपर्नेमा जोड दिएको छ।

























