काठमाडौं । सर्वोच्च अदालतले ११ देशका राजदूतहरू फिर्ता बोलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको भोलिपल्टै सरकारले ती राजदूतहरूलाई नेपाल फर्काउन पुन: पत्राचार गरेको छ।
परराष्ट्र मन्त्रालयले सोमबारै सम्बन्धित राजदूतहरूलाई पत्र पठाउँदै, “अर्को व्यवस्था नभएसम्म मन्त्रालयमा हाजिर रहनु पर्ने” निर्देशन दिएको परराष्ट्र स्रोतले जनाएको छ।
सरकारले यसअघि असोज ३० गते चीन, अमेरिका, बेलायतसहित ११ देशका राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको थियो। तर, आइतबार मात्र सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।
स्रोतका अनुसार, सर्वोच्चको आदेशका बाबजुद मन्त्रालयले सोमबार बेलुकी नै ती राजदूतहरूलाई नेपाल फर्किन निर्देशन पठाएको हो। यस कदमले कार्यपालिकाको सर्वोच्च अदालतप्रतिको प्रतिवद्धता र संवैधानिक मर्यादाबारे थप बहस उत्पन्न भएको छ ।

























