बुटवल । नेकपा एमाले निकट मजदुर संगठन जिफन्टका केन्द्रीय उपाध्यक्ष तथा एमाले केन्द्रीय सदस्य कमल गौतमको निधन भएको छ ।
भैरहवास्थित नेपाल विद्युत् प्राधिकरणको कार्यालय अगाडि आयोजित विरोधसभामा उनले भाषण गर्दै गर्दा अचानक बेहोस भएर ढलेका थिए । विद्युत् प्राधिकरणले ट्रंकलाइन प्रयोगको आरोप लगाउँदै बुटवल–भैरहवा औद्योगिक करिडोरका १० उद्योगको लाइन काटेपछि उद्योगी तथा मजदुरले संयुक्त रूपमा विरोध कार्यक्रम गरेका थिए ।
भाषणकै क्रममा ढलेका गौतमलाई तत्कालै उपचारका लागि मणिग्रामस्थित क्रिमसन अस्पताल पुर्याइएको थियो। तर अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
अस्पतालका अनुसार प्रारम्भिक परीक्षणमा गौतमको मृत्यु हृदयघातका कारण भएको पुष्टि भएको छ ।
६५ वर्षीय गौतम बुटवल उपमहानगरपालिका–३, ज्योतिनगरका स्थायी बासिन्दा हुन् । उनले सन् १९९७ (२०५४ साल) देखि नेकपा एमाले र जिफन्टमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए ।
गौतमले लामो समयसम्म मजदुर आन्दोलन, श्रमिक अधिकार र उद्योग क्षेत्रको सुधारका पक्षमा सक्रिय रहँदै आएका थिए । उनका श्रीमती र दुई छोरा रहेका छन् ।
मजदुर तथा उद्योगीहरूले गौतमको आकस्मिक निधनप्रति दुःख व्यक्त गर्दै उनको योगदानलाई नेपाली मजदुर आन्दोलनका लागि “अमूल्य सम्पदा”का रूपमा स्मरण गरेका छन् ।

























