काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आगामी कात्तिक १८ देखि २० गतेसम्म कतारमा आयोजना हुने संयुक्त राष्ट्रसंघ अन्तर्गतको आर्थिक तथा सामाजिक परिषद् (इकोसोक) द्वारा आयोजित सामाजिक विकासका लागि दोस्रो विश्व सम्मेलनमा सहभागी हुन कतार प्रस्थान गर्न लागेका छन् ।
कतारका अमिर (राजा) शेख तामिम बिन हमाद अल थानीको निमन्त्रणामा हुन लागेको यो भ्रमणका लागि राष्ट्रपति पौडेलको टोली १२ सदस्यीय हुने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
भ्रमण दलमा राष्ट्रपति पौडेलसँगै पत्नी सविता पौडेल, राष्ट्रपति कार्यालयका सचिव डा. दीपक काफ्ले, र राष्ट्रपतिका प्रमुख स्वकीय सचिव तथा छोरी अवज्ञा पौडेल रहनेछन् ।
त्यस्तै, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेल, परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रमहाशाखाका प्रमुख सहसचिव कृष्णप्रसाद ढकाल, सोही महाशाखाका एक अधिकृत, शिष्टाचार महापाल (Chief of Protocol) कुमारराज खरेल, एक प्रोटोकल अधिकृत, राष्ट्रपतिका चिकित्सक, साथै नेपाली सेना र नेपाल प्रहरीका दुई एडीसी समेत टोलीमा रहनेछन्।
‘इकोसोक’ द्वारा आयोजना हुने यो सम्मेलन ३० वर्षपछि हुन लागेको हो। यसअघि सन् १९९५ मा पहिलो सम्मेलन डेनमार्कको कोपनहेगनमा भएको थियो, जसमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरेका थिए।
यो सम्मेलनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने तयारीमा थिए। तर, २३ भदौको ‘जेन–जी आन्दोलन’ पछि उनले पदत्याग गरेपछि राष्ट्रपति पौडेलले नेपाल प्रतिनिधित्व गर्ने अवसर पाएका हुन् ।
गत वर्ष (२०८१ साल) वैशाख ११–१२ गते कतारका अमिरले नेपाल भ्रमणका क्रममा राष्ट्रपति पौडेललाई आफ्नो देश भ्रमणको निमन्त्रण दिएका थिए। सोही निमन्त्रणाको सिलसिलामा यो भ्रमण तय भएको हो।
स्रोतका अनुसार, हालको राजनीतिक परिदृश्यमा सरकारको प्राथमिकता राजनीतिक व्यवस्थापन र आसन्न निर्वाचन भएकाले सम्मेलनमा राष्ट्रपति स्तरको सहभागिता उपयुक्त ठानिएको हो।
स्मरणीय छ — इकोसोकको अध्यक्षता हाल नेपालकै स्थायी प्रतिनिधि लोकबहादुर थापाले सम्हालेका छन्। उनी गत १५ साउनमा यस निकायको अध्यक्ष निर्वाचित भएका थिए।

























