काठमाडौं । नेपाल, भारत र इरान बीचको त्रिदेशीय फिफा मैत्रीपूर्ण प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको छ।
भारतको सिलोङस्थित जवारलाल नेहरू रङ्गशालामा भएको खेलमा नेपाल इरानसँग ३-० ले पराजित भएको हो।
नेपाललाई हराउँदै इरान लगातार दुई खेलमा जितसहित प्रतियोगिताको उपाधि जितेको छ।
खेलको एघारौँ मिनेटमा नेपालले फ्री किक मार्फत राम्रो मौका पाएको थियो। जसमा प्रीति राईले प्रहार गरेको फ्री किक बललाई कप्तान सावित्रा भण्डारीले राम्रोसँग कन्ट्रोलमा लिन सकिनन्।
खेलको ३१ औँ मिनेटमा नेपालको तर्फबाट सुनौलो अवसर गुम्यो। सविता राना मगरले हानेको बल डिफेन्डरले क्लियर गर्न नसक्दा नेपालकी मिडफिल्डर रेखा पौडेलले उक्त बल प्राप्त गरेकी थिइन्। पोष्टको ठिक अगाडि डिफेन्डरलाई बिट गर्दै पाएको बललाई उनले सदुपयोग गर्न नसक्दा बल पहिलो पोस्ट हुँदै बाहिरियो।
पहिलो हाफ गोल रहित बराबरीमा सकिँदा दोस्रो हाफको सुरुवातमा नै नेपालले ३ गोल बेहोर्यो।
खेलको ४९ औँ मिनेटमा इरानकी साराले बिमल नेपालको डिफेन्डर बिमला विक र गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई बिट गर्दै गोल गरिन्। इरानकी गोलकिपरले फालेको लङ बललाई गोलमा परिणत गरेकी हुन्। खेलको ५२ औँ मिनेटमा इरानले दोस्रो गोल गर्यो। इरानका लागि कप्तान जेहरा गाबारीले डिबक्स बाहिर पाएको फ्री किकलाई दोस्रो बारमा गोल गरेकी हुन्।
खेलको ५७ औँ मिनेटमा नेपालले तेस्रो गोल बेहोर्यो। इरानको लागि जर्सी नम्बर ८ कि सबनामले इरानको लागि तेस्रो गोल गरिन्।
खेलको ६९ औँ मिनेटमा प्रीति राईले बिट गर्दै हानेको प्रहार पहिलो बार हुँदै बाहिरियो।
खेलको ७८ औ मिनेटमा प्रीति राईले पोस्ट बाहिरबाट दिएको बललाई रश्मी कुमारी घिसिङले गरेको फाइडरलाई इरानकी गोलकिपरले दोस्रो बार बाट बाहिर पठाइदिइन्।
दोस्रो हाफमा नेपालको रक्षा पंक्ति कमजोर देखियो। जसको फलस्वरूप नेपालका प्रशिक्षक नविन न्यौपानेले रक्षा पंक्ति बलियो बनाउँदै अग्रपंक्तिमा पनि रश्मीकुमारी घिसिङ, अनिता बस्नेत थप्दै मिडफिल्डमा दिपा शाही र रक्षा पंक्तिमा मनमाया दमाई जस्ता खेलाडीलाई थपे। गोलकिपरमा एन्जिला तुम्बापो सुब्बालाई परिवर्तन गर्दै अञ्जना राना मगर मैदान प्रवेश गरिन्।
दोस्रो हाफको १२ मिनेट भित्र तीन गोल बेहोर्दा नेपाललाई त्यसपछि कमब्याक गर्न निकै गाह्रो पर्यो।
इरानको बलियो डिफेन्स नेपालको आक्रमणले केही मौका बनाए पनि सफल पनि हुन सकेन।
फिफा वरीयतामा इरान ७०औँ र नेपाल ८९औँ स्थानमा छ । यसअघि नेपाल र इरानको महिला टोलीबीच एक पटक मात्र खेल भएको छ । ६ वर्ष अगाडि नेपाल र इरानले २०१९ मा खेलेका थिए। जसमा नेपाल ३-० ले विजयी भएको थियो। आज त्यसको ठिक विपरीत भएको छ।
इरानले यस मैत्रीपूर्ण खेलको पहिलो खेलमा आयोजक भारतलाई २–० ले पराजित गरिसकेको छ।
नेपालले दोस्रो खेल आयोजक भारतसँग कार्तिक १० मा खेल्नेछ।

























