काठमाडौं । जेनजी आन्दोलनका बेला सुरक्षाकर्मीको हतियार खोसेर सिंहदरबारको गेटमा पोजिसन लिने सम्राट भनिने राजु परियार पक्राउ परेका छन्। आन्दोलनका क्रममा उनले प्रहरीले चलाउने एसएलआर खोसेर देशको केन्द्रीय प्रशासनिक क्षेत्र सिंहदरबारको मूल गेटमा पोजिसन लिएका थिए। कालो ट्राउजर, कालो टोपी र कालै माक्स लगाएर सिंहदरबारको गेटमा ताकिरहेका युवक हुन्, ललितपुरका ३६ वर्षीय राजु परियार। प्रहरीको सेल्फ-लोडिङ राइफल (एसएलआर) कक गर्दै पोजिसन लिएको उनको फोटो चर्चित बनेको थियो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वचालित राइफल बोकेर उशृंखल गतिविधि गरेको आरोपमा ललितपुरको सुनाकोठीबाट उनलाई पक्राउ गरेको हो। परियारको अपराध भने नयाँ हैन। उनीविरुद्ध विभिन्न मितिमा ८ वटा जाहेरी दर्ता भएको छ। यसअघि नै उनी विभिन्न मितिमा ६ पटक पक्राउ परिसकेका छन्। पक्राउ पर्नु, छुट्नु पुनः अपराधमा सक्रिय हुनु उनको पेसाजस्तै देखिन्छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी पवन भट्टराईका अनुसार उनले आन्दोलनको दिन प्रहरीको हतियार खोस्ने, सार्वजनिक सम्पत्ति तोडफोड र आगजनी गर्ने, मुलुकी अपराध संहिताको दफा २८५ बमोजिमको आपराधिक उपद्रव गर्न नहुने कसुरमा पक्राउ गरिएको हो। उनीविरुद्ध अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौंले ५ दिनको म्याद थप गरेको छ ।

























