काठमाडौं । जेन—जी आन्दोलनपछि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पहिलोपटक आज बस्दैछ। कांग्रेसमा मुख्य एजेन्डाका रूपमा रहेको नियमित कि विशेष महाधिवेशन भन्ने विषय नै आजको बैठकको मुख्य एजेन्डा छ। पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको बैठकमा सबै केन्द्रीय सदस्यहरूको राय लिएपछि मात्र कुन खाकाको महाधिवेशन गर्ने भन्ने तय गरिने भएको छ।
मंसिरभित्रै महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा कांग्रेसको संस्थापन र इतर पक्षबीच सहमति अझै जुट्न सकेको छैन। एजेन्डा तय गर्न चार दिनदेखि बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशनसम्बन्धी तालिकामा सहमति नजुट्दा मंगलबार ११ बजेलाई बैठक बोलाइएको छ। पहिला बैठक बसेर एजेन्डा तय गर्ने र १ बजे केन्द्रीय समितिको बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
यसैबीच जेनजी आन्दोलनका क्रममा गत भदाै २४ गते आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परी घाइते भएका पार्टी सभापति शेरबहादुर देउवा आजको बैठकमा उपस्थित हुने जनाइएको छ ।

























