काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबारको सार्वजनिक बिदा खारेज गरेको जनाएको छ। आइतबार राति १० बजे सूचना जारी गर्दै सोमबार बिहान १० बजे सबै सरकारी कार्यालय, संस्थान र स्थानीय तहहरूमा सेवा प्रवाह पुनः सुरु गर्न निर्देशन दिएको हो ।
लगातारको वर्षा भइरहेको भन्दै गृह मन्त्रालयले यस अगाडि सूचना जारी गर्दै आइतबार र सोमबार बिदा दिएको थियो। तर गृह मन्त्रालयले पुन: आइतबार साँझ विपद् जोखिम र प्रतिकार्य कार्यमा प्रत्यक्ष संलग्न नभएका जिल्लाहरूमा सार्वजनिक सेवा नियमित सञ्चालन गर्न प्रशासनलाई निर्देशन दिएपछि बिदा खारेज भएको हो।
जिल्ला प्रशासन कार्यालयको सूचनामा भनिएको छ, “विगत २ दिन देखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरु अवरुद्ध भएको अवस्था एवं तत्काल उद्धार एवं राहतमा जुट्नु पर्ने स्थितिका कारण असोज १९ र २० गते सार्वजनिक बिदा भनिएकोमा हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरिसकेको हुँदा सोमबारका दिन बिहान १० बजेदेखि कार्यालय सम सम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरु, संस्थानहरु र स्थानिय तहहरुबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख एवं तदनुरुप कर्मचारीहरुको उपस्थितिको व्यवस्था मिलाउनु हुन अनुरोध छ ।”

























