काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले असोज १२ गते (आइतबार) भित्र शिक्षकलाई तलब वितरण नगर्ने विद्यालयका प्रधानाध्यापकविरुद्ध कारबाही गर्ने चेतावनी दिएका छन् ।
मन्त्री पुनले शनिबार बिहान सामाजिक सञ्जालमार्फत जानकारी दिंदै दशैँ–तिहारको समयमा पनि तलब नपाएको भन्ने शिक्षकहरूको गुनासो व्यापक रुपमा आएको उल्लेख गरे । उनले शिक्षकमाथि अन्याय नगरी तोकिएको म्यादभित्रै पारिश्रमिक उपलब्ध गराउन सम्बन्धित विद्यालयलाई निर्देशन दिएका हुन् ।
शिक्षा मन्त्रालयबाट आवश्यक बजेट पहिले नै विद्यालयमा पठाइसकिएको स्मरण गराउँदै मन्त्री पुनले शिक्षकले आइतबारसम्म पनि तलब नपाएमा त्यसका लागि जिम्मेवार प्रधानाध्यापकलाई नियमअनुसार कारबाही हुने चेतावनी दिए ।

























