चितवन । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा पहिरोमा फसेका यात्रुहलक्षित निःशुल्क बस सेवा थालिएको छ । नेपाल प्रहरीले विगत दुई दिनदेखि पहिरोबाट रोकिएका यात्रुलक्षित निःशुल्क बस सेवा सुरु गरेको हो ।
मंगलबार (असोज ७)देखि पहिरोले रोकिएका यात्रुलाई बस सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं एसपी गोविन्द पुरीले जानकारी दिए । प्रहरी स्कुल शान्तिपुरका दुई बसबाट निःशुल्क सेवा दिइरहेको उनले बताए ।
तनहुँतर्फको बाटो हुँदै पाँचकिलोको पुलसम्म आएका यात्रुलक्षित बस सेवा सञ्चालनमा ल्याइएको हो । उनले भने, “पहिरोका कारण हिँड्दै आएका यात्रुलाई भरतपुरसम्मका लागि निःशुल्क बस सेवा सञ्चालनमा ल्याएका हौँ ।”
पहिरोका कारण लामो समयसम्म सडक खुल्ने सम्भावना नभएपछि अलपत्र परेका वा हिँड्दै आएका यात्रुलाई निःशुल्क बसको व्यवस्था गरिएको उनले जानकारी दिए ।
पाँचकिलोमा यात्रु जम्मा भएपछि प्रहरीले खबर गरेर बस पठाउने गरेको छ । सुरुको दिन पहिरो खसेको स्थानबाटै यात्रु ल्याइएको थियो । बिहीबार (असोज ९)देखि भने पाँचकिलोबाट यात्रु ल्याउन थालिएको छ । सडक अवरुद्ध भएपछि यात्रुले पैदल हिँडेर वैकल्पिक मार्ग अपनाउनुपरेको छ ।
पहिरो समय–समयमा खसेकाले पन्छाउन कठिन भएको हो । शुक्रबार (असोज १०)सम्म पहिरो पन्छाइसक्ने अनुमान छ ।
गएको शुक्रबार (असोज ३) खसेको पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको थियो । मंगलबार पुनः पहिरो खसेर सडक अवरुद्ध भएको छ । बिहीबार पनि बिहानैदेखि पहिरो पन्छाउने कार्य भइरहेको छ । (रासस)

























