काठमाडौं । नेपाली कांग्रेस संस्थापनइतर समूहका महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशनको माग गरेका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै गुरुराज घिमिरेको नेतृत्वमा महाधिवेशन प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर गरेका हुन्।
महाधिवेशन प्रतिनिधिहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विगतका गल्तीप्रति आम देशवासी, शुभेच्छुक तथा समर्थकप्रति क्षमा माग्न र सुधारिएर भविष्यको बाटो तय गर्न विशेष महाधिवेशनबाहेक अर्को उपयुक्त थलो वा माध्यम छैन र हुन पनि सक्दैन । देशको वर्तमान अवस्थाको गम्भीरता, पार्टीको अवस्था र नेतृत्वमाथि उठेका विभिन्न प्रश्नहरुको निरुपण आगामी बाटो तय गर्न विशेष महाधिवेशनको आवश्यकता महशुस गरी हामी नेपाली कांग्रेसका साथीहरुलाई यस अभियानमा जोडिन आग्रह गर्छौं।’
हस्ताक्षर गर्नेमा शेखर कोइराला समूहमा खुल्दै आएका नेताहरु छन्। ‘नेतृत्वमाथि उठेका विभिन्न प्रश्नहरु निरुपण गर्दै आगामी बाटो तय गर्न विशेष महाधिवेशनको आवश्यकता महसुस गरी हामी महाधिवेशन प्रतिनिधिहरु नेपाली कांग्रेसका सम्पूर्ण साथीहरुलाई यस अभियानमा जोडिन आग्रह गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।
यता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नीसमेत रहेकी निवर्तमान परराष्ट्र मन्त्री आरजु राणा भने उपचाररत छन्। उनीहरुमाथि घरभित्रै पसेर भदौ २४ गते प्रदर्शनकारीहरूले कुटपिट र आक्रमण गरेका थिए।
उपचाररत रहेका सभापति देउवासँग नेताहरुले भेट गर्न पाएका छैनन्। यद्यपी उपसभापति पूर्णबहादुर खड्काले सभापति देउवासँग फोनमा कुराकानी गरेपछि विज्ञप्तिमा सभापति देउवामाथि अमानवीय र बरबर्तापूर्ण आक्रमण भएको उल्लेख गरेका थिए।
क-कसले गरे हस्ताक्षर ?

























