काठमाडौं । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान् पर्व बडादशैँ आजबाट सुरू भएको छ ।
आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ ।
बिहानै नृत्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा, माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा वा दशैँ घरमा विधिपूर्वक जौ, मकैको जमरा राख्ने गरिन्छ । आजैदेखि दशैँ घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आवाहन गरी पूजा आरम्भ हुन्छ ।
जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यो रोपण गरी दुर्गालाई चढाएर विजया दशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ ।
आजकै दिन हनुमानढोका दरबार स्क्वायरको दशैं घरमा पनि विधिवत् रूपमा जमरा राखिएको छ ।
घटस्थापनाका दिन पूजा कोठामा घडामा जलभरि माथिपटि आँप, चाप, वरपिपलको पात राख्ने परम्परा छ । यो घडा वरिपरि गाईको गोबर टाँसेर त्यहाँ जौ उमार्ने चलन छ । कहीँकहीँ मकै र गहुँको प्रयोग भए पनि अधिकांश स्थानमा जौ छर्ने प्रचलन रहेको छ । यसैबीच काठमाडौंको हनुमान ढोकास्थित दशैँघरमा पनि विधिवत रुपमा जमरा राखिएको छ ।
उक्त अवसरमा नेपाली सेनाको ब्याण्ड बाजा टोलीले मंगल धुन बजाएका थिए भने बन्दुक पड्काएर बढाइँ गरिएको थियो । नियमपूर्वक मन्त्रोच्चारण गरी दशैघरमा घटस्थापना र जमरा राखिएको हो ।
जौं को अङ्कुर दुर्गा देविको प्रिय वस्तु भएकोले दुर्गालाई चढाएर दशमी अर्थात् विजयादशमी को दिन टिका प्रसादसँगै समृद्धिको प्रतिकको रुपमा जमरा धारण गरी मान्यजनबाट आर्शिवाद लिने प्रचलन छ ।

























