काठमाडौं । सरकारले यस वर्षको संविधान दिवस सामान्य रूपमा मनाउने निर्णय गरेको छ । गृह मन्त्रालयका उपसचिव रवीन्द्र आचार्यले संविधान दिवसलाई औपचारिक तर सादा रूपमा मनाउने तयारी भइरहेको जानकारी दिएका छन् ।
उनका अनुसार, “संविधान दिवस सामान्य रूपमा मनाउने तयारी छ,” भनेर तयारीको स्वरूप प्रष्ट पारेका छन्। संविधान दिवस हरेक वर्ष असोज ३ गते मनाइन्छ। २०७२ सालको यही दिन संविधान सभाबाट नेपालको वर्तमान संविधान जारी भएको थियो।
अघिल्ला वर्षहरूमा संविधान दिवस विशेष समारोहमार्फत मनाउने गरिन्थ्यो। गृहमन्त्रालयले सूचना जारी गर्दै संविधान दिवस मूल समारोह समिति गठन गर्थ्यो र सैनिक मञ्चमा विशेष कार्यक्रम आयोजना गरिन्थ्यो। त्यसमा संवैधानिक अंगका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सरकारी कर्मचारी, सुरक्षाकर्मी, विद्यार्थी, शिक्षक, सामाजिक अभियन्ता, उद्योगी–व्यवसायी लगायत समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूलाई आमन्त्रित गरिन्थ्यो।
तर, यस वर्ष सरकारको कार्यक्रम अझै प्रस्ट रूपमा सार्वजनिक गरिएको छैन। नेपाली सेनाले पनि संविधान दिवस सामान्य रूपमा मनाउने तयारी भइरहेको जनाएको छ।
























