भरतपुर । चिवनको भरतपुर कारागारबाट भागेका कैदीबन्दी फर्किन थालेका छन् । बुधबार बिहान आगजनी गरेर निस्किएका कैदीबन्दीमध्ये ५४ जना आफैँ फर्किएका हुन् ।
भरतपुर कारागारबाट ७४० कैदीबन्दी भागेका थिए । अहिले क्रमशः फर्किन थालेको जिल्ला कारागार चितवनका प्रमुख रवीन्द्र ढुंगानाले जानकारी दिए ।
बुधबार बिहान नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीको घेरा तोडेर कैदीबन्दी बाहिर निस्किएका थिए । उनीहरुलाई फोन गरेर बोलाएपछि आउने क्रम जारी रहेको ढुंगानाले बताए ।
“बुधबारको माहोल बेग्लै थियो । त्यतिखेर सबै निस्किएर गए”, ढुंगानाले भने, “सरकारले भागेका व्यक्तिहरुलाई जसरी पनि समात्छ भनेर पनि हुनसक्छ फर्किएका छन् ।”
चितवन कारागारमा ७४० कैदीबन्दी थिए । जसमा ४६ जना महिला रहेको ढुंगानाले जानकारी दिए । (रासस)
























