काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुने बताएको छ। आयोगले आज एक विज्ञप्ति जारी गर्दै जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्ने जनाएको हो।
आयोगले संकटको घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आमनागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक भएको आयोगको भनाई छ।
‘लोकतन्त्रको विकल्प लोकतन्त्र मात्र हुन सक्दछ भन्ने कुरामा आयोग दृढ छ। जनताका हक अधिकारलाई थप मजबुत र सुरक्षित बनाउँदै लोकतान्त्रिक विधि र प्रक्रियाबाट नै वर्तमान अन्यौलताबाट देशले यथाशीघ्र राजनीतिक निकास पाउनुपर्दछ। सङ्कटको यस घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आमनागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक भएकाले सम्बद्ध सबैले आआफ्नो भूमिका निर्वाह गर्न आयोग सम्बद्ध सबैलाई आग्रह गर्दछ’ आयोगका सहसचिव / प्रवक्ता डा. टीकाराम पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
देशका विभिन्न भागमा भाद्र २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिको उत्पन्न अवस्थाका सम्बन्धमा आयोगले अनुगमनलाई निरन्तरता दिएको जनाएको छ। देशका विभिन्न शहरहरुमा भएको दुई दिनको प्रदर्शनपश्चात लागेको निषेधाज्ञाको समयमा समग्र मानव अधिकारको स्थिति एवम् मृतकका परिवार र घाइतेहरुको अवस्था बुझ्ने कार्यलाई आयोगले आज पनि निरन्तरता दिएको जनाएको छ। आयोगको अनुगमन अनुसन्धान कार्यमा आवश्यक सहयोग पुयाउनुका साथै मानव अधिकारकर्मी, सञ्चारकर्मी र अत्यावश्यक सेवा प्रदायकलाई आवतजावतमा सहजीकरण गर्न समेत आयोग सम्बन्धित सबैमा आग्रह गरेको छ।
‘विगत दुई दिनमा घटेका हिंसात्मक कार्य, आगजनी र तोडफोडले देशको ठूलो जनधनको क्षति भएको दुखद घटनाप्रति सबैको चिन्ता हुनु स्वभाविकै हो। अब यस प्रकारका घटना हुने छैनन् भन्ने कुरामा विश्वस्त हुँदै कोही कसैले पनि हिंसात्मक कार्य नगर्न नगराउन हुन आयोग सबैमा आह्वान गर्दछ। देश विषम अवस्थामा रहेको वर्तमान सन्दर्भमा सबै पक्ष संयमित हुनु पर्दछ।’विज्ञप्तिमा भनिएको छ। ‘सम्बद्ध सबै पक्षले देश र जनताप्रतिको जिम्मेवारी मनन गर्दै वर्तमान अन्यौलताको अवस्थाबाट अगाडि बढ्नु आवश्यक छ। यसका लागि राष्ट्रिय मानव अधिकार आयोग आवश्यक भूमिका निर्वाह गर्न सदैव तत्पर रहेको छ ।’

























