काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिएका छन्। मंगलबार सामाजिक सञ्जालमा लेख्दै उनले मन्त्री पदबाट राजीनामा दिएको जानकारी गराएका हुन्।
उनले लेखेका छन्,ʻस–साना कलिला छोराछोरीहरूको हत्या र दमन पश्चात् देशलाई नै शोकाकुल पारेर सरकारमा बसिरहन मेरो नैतिकता र मेरो दलले मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले चेतावनी दिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसिइरहन अपराधबोध भएकोले देश र जनतासमक्ष नैतिक रूपमा क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति आपत्ति जनाउँदै देश र जनतासमक्ष मन्त्री पदबाट राजीनामा पेस गरेको जानकारी गराउँदछु।ʼ
अधिकारी नेपाली कांग्रेसबाट मन्त्री भएका हुन्। उनी कांग्रेस नेता शेखर कोइराला पक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारमा मन्त्री भएका हुन्। यसअघि कोइरालाले आफू पक्षका मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएका थिए। अब उनी निकट तेजुलाल चौधरी, बद्री पाण्डे सरकारमा रहेका छन्। यसैगरी प्रदीप पौडेल पनि राजीनामा दिने सम्भावना रहेको बताइएको छ।



















