काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ। यसअघि मंगलबार बिहान ५ बजेसम्मका लागि काठमाडौंका विभिन्न स्थानमा लगाइएको कर्फ्यू मंगलबार बिहान ८:३० बजेदेखि अर्को आदेश नभएसम्मका लागि जारी भएको हो।
सोमबार नै बानेश्वर क्षेत्रमा प्रशासनले कर्फ्यू आदेश जारी गरेको थियो। मध्यराति फेरि कर्फ्यू आदेश लम्ब्याएर मंगलबार बिहान ५ बजेसम्मका लागि तोकिएको थियो। प्रशासनले आज पुन: सूचना जारी गरी अनिश्चित समयका लागि कर्फ्यू जारी गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले काठमाडौं महानगरपालिकाभित्र तोकिएका निषेधित क्षेत्रमा कसैले आवात जावत गर्न,कुनै प्रकारको भेला,जुलुस,प्रदर्शन ,सभा,बैठक र घेराउ गर्न नपाउनेगरी कर्फ्यू आदेश जारी गरेका हुन्।
काठमाडौं महानगरपालिकाको वालकुमारी पुलदेखि कोटेश्वर चोक, सिनामंगल, गौशाला, चावहिल, नारायणगोपाल चोक, गोङ्गबु, बालाजु, स्वयम्भू, कलंकी, बल्खु हुँदै बागमति नदी पुलसम्मको चक्रपथ भित्रको सम्पूर्ण भू-भागमा कर्फ्यू जारी भएको हो।
कर्फ्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वहान, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरूको आवगमनमा सुरक्षाकर्मीहरूबा६ सहजीकरण हुने प्रशासनले जनाएको छ। जेनजी पुस्ताले काठमाडौंमा सोमबार गरेको प्रदर्शनका क्रममा १७ जनाको मृत्यु भएको छ भने सयौं घाइते छन्। प्रदर्शनका क्रममा काठमाडौं उपत्यका बाहिर पनि दुईजनाको ज्यान गएको छ भने त्यहाँ पनि सयौं जना घाइते भएका छन्।




















