काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले सवारीसाधनमा अनिवार्य गरिएको इम्बोस्ड नम्बर प्लेटको कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद नेम्वाङले इम्बोस्ड नम्बर प्लेटको कार्यान्वयनले आम नागरिकलाई अनावश्यक झन्झट र सास्ती मात्र थपेको आरोप लगाए । उनले यो विषय जनताको जीवनसँग प्रत्यक्ष सम्बन्धित भएकाले गम्भीर रूपमा लिन सरकारलाई आग्रह गरे ।
‘इम्बोस्ड नम्बर प्लेट जनतालाई थप हैरानीको कारण बन्न थालेको छ,’ उनले भने, ‘सरकारले तत्काल यसको कार्यान्वयन स्थगित गरी आवश्यक पूर्वाधार, प्रविधि र जनचेतना सुनिश्चित गरेपछि मात्र चरणबद्ध रूपमा अगाडि बढाउनु पर्छ ।’
सांसद नेम्वाङले हालको अवस्थालाई औंल्याउँदै सवारी प्रयोगकर्तामाथि पहिल्यै धेरै आर्थिक र प्रक्रियागत भार रहेको बताए । उनले भने, ‘गाडी किन्ने बेलामा उच्च कर तिर्नुपर्छ, हरेक वर्ष बीमा अनिवार्य छ, सडक कर तिर्न लाइन लाग्नुपर्छ, लाइसेन्स बनाउन फारम, परीक्षा र लामो प्रतीक्षा… यस्तो अवस्थामा फेरि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्नु जनतामाथिको अर्को बोझ हो ।’
उनले इम्बोस्ड नम्बर प्लेटको उद्देश्य र यसको व्यावहारिकता सम्बन्धमा समेत प्रश्न उठाएका छन् ।
‘के हामीसँग पर्याप्त प्रविधि, सेवा केन्द्र र जनशक्ति छन् ? जब हजारौं नागरिकले वर्षौंदेखि लाइसेन्स पाउन सकेका छैनन्, कर तिर्न दिनभर लाइन बस्नुपर्छ, यस्तो अवस्थाले देखाउँछ कि प्रणालीमै सुधार आवश्यक छ,’ उनले जोड दिए ।
जनताले भाषा, पहिचान र भावनासँग जोडेर पनि इम्बोस्ड नम्बर प्लेटको विषयमा गुनासो र असन्तुष्टि व्यक्त गरिरहेको उल्लेख गर्दै उनले त्यस्ता संवेदनशील पक्षलाई बेवास्ता गर्नु नहुने बताए ।
























