काठमाडौं । नेकपा (एकीकृत समाजवादी) भित्र बढ्दो असमझदारीका बीच वरिष्ठ नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षीय नेताहरू छुट्टै छलफलमा जुटेका छन् । नयाँ बानेश्वरस्थित शान्तिनगरको बानेश्वर क्याम्पसमा उनीहरूको बैठक जारी छ।
पार्टीको आसन्न केन्द्रीय समिति तथा स्थायी कमिटी बैठकका एजेन्डा तय गर्ने उद्देश्यले भएको यो छलफलमा स्थायी कमिटी सदस्य हरि पराजुली, पोलिटब्यूरो सदस्य लक्ष्मण लम्साल, नरेशकुमार शाही, केन्द्रीय सदस्यहरू सुशील भट्टराई, मनाकुमारी साउदलगायत नेताहरू सहभागी छन्।
बैठक अनौपचारिक भएको सहभागी नेताहरूको भनाइ छ । यस्तै, पछिल्लो समय पार्टी अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालबीच मतभेद चुलिएको छ। दुवै पक्षले सार्वजनिक रूपमा एकअर्कालाई लक्षित गर्दै टिप्पणी गरिरहेका छन्।
असन्तुष्ट नेताहरूको भेलामा पूर्वमन्त्री रामकुमारी झाँक्री पनि अरु नेता भन्दा केही ढिलो सहभागी भएकी छन्। झाँक्रीको उपस्थितिले छलफलमा थप रौनक थपिएको सहभागीहरूले बताएका छन्।
बैठकमा सहभागी नेताहरूले अध्यक्ष नेपालमाथि मनोमानीपूर्ण निर्णय लिने र पार्टी सञ्चालनमा एकलौटी शैली अपनाएको आरोप लगाएका छन्। उनीहरूले नेपालले पार्टीलाई माओवादी केन्द्रसँग एकीकरण गर्ने उद्देश्यसहित वार्ता अगाडि बढाएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
























