रौतहट । सडक किनारामा बन्द सुटकेसभित्र मृत भेटिएकी रुबि साहको हत्या आरोपी शरीर जलेको अवस्थामा फेला परेका छन् ।
आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैंचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा बुधबार बिहान आत्महत्याको प्रयास गरेको अवस्थामा फेला परेका हुन् ।
आफ्नै घर नजिक आगो लगाएर आत्महत्याको प्रयास गरेका पासवानको शरीर पूरै जलेकोकाले उपचारको लागि तत्कालै अस्पताल लैजान लागेको जिल्ला प्रहरी कार्यालय गौरका एक प्रहरी अधिकृतले जानकारी दिएका छन् ।
रुबीको हत्यापछि फरार पासवानले मंगलबार राति इन्स्टाग्राममा केही बोलेका थिए । त्यसैलाई पिछा गर्दै प्रहरी पासवान बसेको स्थान पुगेको थियो ।
शनिबार साँझ गौरस्थित कोठा रुबी ब्यूटी पार्लर जान भनेर निस्किएकी थिइन् । आइतबार भारतको मुजफरपुरस्थित रोक्साटोल घर जाने तयारीका लागि रुबी अनुहारमा फेसियल गर्न पार्लर गएकी हुन् ।
सोही राति १० बजेतिर गौर–सिरसिया सडकखण्ड अन्तर्गत गौर नगरपालिका–९ मुडवालगेटस्थित सडकमा बेवारिसे अवस्थामा सुटकेस देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी तत्कालै घट्नास्थल पुगे पनि शंकास्पद सुटकेस खोलेन । बिहान पख खोलेर हेर्दा रुबीको शव फेला पारेको थियो ।
माधोपुर घर भएका पासवानको गौरस्थित डेराबाट रुबीको चप्पल फेला पारे पछि प्रहरीले हत्यामा उनकै संलग्नता भएको भन्ने निष्कर्षमा पुगेको थियो । रुबीको हत्या पछि मोबाइल अफ गरेर लक्ष्मण पासवान घर वरपर लुकेर बसेका थिए ।
पूरै शरीर जलेर गम्भिर घाइते पासवानलाई थप उपचारको लागि कीर्तिपुर बर्न अस्पताल लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक रुद्र कँडेलले जानकारी दिए । अनुहार पूरै डढेका पासवान बोल्न सक्दैनन्, मुन्टो मात्र हल्लाउँछन् ।
प्रहरी स्रोतका अनुसार रुबी साहको हत्या गौर नगरपालिका–५ को बालमन्दिर पछाडिको एउटा घरमा भएको हो । त्यही घरमा फेला परेको चप्पल र व्यक्तिगत सामग्रीबाट प्रहरीको शङ्का पुष्टि भएको हो ।
हत्या गरेपछि पासवानले शव लुकाउन सुटकेस प्रयोग गरी सार्वजनिक स्थानमा फ्याँक्ने योजना बनाएको अनुसन्धानमा खुलेको छ । शव सार्न उनले गौरको कबिर चौकबाट ५०० रुपैयाँमा ई–रिक्सा भाडामा लिएका थिए ।
सुटकेस बोकाएर लगेको आरोपमा पक्राउ परेका रिक्सा चालक राजकुमार महराले सुटकेस बोकेका व्यक्तिले अरू रिक्सामा जान अस्वीकार गर्दै आफूसँगै जाने अडान गरेको बताएका छन् ।
हत्या गर्नुको कारण, आर्थिक वा व्यक्तिगत विवाद र सम्बन्धका आयामबारे अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ । प्रारम्भिक विवरणअनुसार पासवान र मृतक रुबी विद्यार्थी जीवनमै प्रेम सम्बन्धमा रहेको खुलेको प्रहरीले जनाएको छ ।

























