काठमाडौं । संघीय संसद्का विपक्षी दलहरूले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने षड्यन्त्रको सशक्त प्रतिवाद गर्ने निर्णय गरेका छन्।
माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको विपक्षी दलको बैठकले सत्तारुढ दल कांग्रेस र एमालेले उपसभामुखलाई हटाउने षड्यन्त्र गरेको भन्दै सशक्त प्रतिवाद गर्ने निर्णय गरेको माओवादी प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए।
उनले उपसभामुखलाई हटाउन नहुनेमा सबै विपक्ष दलहरूबीच एकमत रहेको बताए। संवैधानिक परिषद्को अवस्थालाई लिएर पटक-पटक उपसभामुखलाई हटाउने प्रयास भएको भन्दै उनले यस्तो कदम राष्ट्रका लागि ठीक नभएको जिकिर गरे।
त्यस्तै बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले उपसभामुखलाई हटाउने सत्तारुढ दलको प्रयासका बारेमा छलफल भएको जानकारी दिए। उपसभामुखलाई हटाउने र संसदलाई कमजोर पार्ने सत्तारूढ दलको षड्यन्त्रको विपक्षी दलहरू एक भएर प्रतिरोध गर्ने निर्णय गरिएको बताए।
त्यस्तै नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले संवैधानिक परिषद्मा बहुमत पुर्याउन उपसभामुखलाई हटाउन खोजेको भन्दै यस्ता कदमलाई कुनै हालतमा सम्भव हुन नदिने निर्णय गरिएको बताए। बैठकमा माओवादी अध्यक्ष प्रचण्डले विपक्षीलाई कमजोर पार्न गरिने सबै प्रकारका षड्यन्त्रको प्रतिकार गर्नुपर्ने बताएका थिए ।

























