विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अझै पनि नेकपा एमालेकै कार्यकर्ता रहेको स्पष्ट पार्दै, यसबारे अनावश्यक बहस नगर्न आग्रह गरेकी छन् ।
सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै भण्डारीले भनिन्, “म नेकपा एमालेकै कार्यकर्ता हुँ। म पनि आलोचनाबाट मुक्त छैन, कोही पनि छैन। यसमा धेरै बहस गर्नु आवश्यक छैन।”
राजतन्त्र र गणतन्त्र फरक शासन प्रणाली भएको उल्लेख गर्दै उनले भनिन्, “राजा व्यक्ति हुन्, राष्ट्रपति भनेको पद हो। यो आवधिक हुन्छ। जुनसुकै नेपाली जनताको छोराछोरी राष्ट्रपति बन्न सक्छन् र कार्यकालपछि आफ्नो पेसामा फर्किन सक्छन्।”
एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीले पार्टीले कुनै औपचारिक भूमिका नदिए पनि आफू एमालेकी संगठित सदस्य भएको बताइन्।
“४५ वर्ष भयो म नेकपा एमालेको संगठित सदस्य भएको, विराटनगरमै मैले शपथ खाएको हुँ” उनले स्मरण गराइन्।
यद्यपि एमाले केन्द्रीय कमिटीले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरिसकेको छ। सो निर्णयबारे आफूलाई औपचारिक जानकारी नभएको भण्डारीको दाबी छ।
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग हालैको भेटघाटबारे टिप्पणी गर्दै उनले त्यसलाई सामान्य भेटघाटको रूपमा वर्णन गरिन्।
“उहाँ पनि मोरङकै हुनुहुन्छ, म पनि त्यहीँ जन्मे–हुर्केकी। त्यस्तो भेटलाई हाउगुजीको रूपमा लिनु आवश्यक छैन। देशका विषयमा नेताहरूबीच संवाद हुनु राम्रो हो,” भण्डारीले भनिन्।
बाम एकताको सन्दर्भमा उनले तत्काल बलियो सम्भावना देखिएको छैन भने पनि त्यो असम्भव भने नरहेको धारणा व्यक्त गरिन्।
























