काठमाडौं, साउन २६ । महालक्ष्मी विकास बैंकको करिब तीन करोड रुपैयाँ हिनामिना गरेको आरोपमा चार जना पूर्वकर्मचारी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दार्चुला शाखाका तत्कालीन प्रवन्धक सागर शाही (३५), नगद विभागकी कर्मचारी निर्मला साउँद (२९), ग्राहक सहायता कक्षका अम्बादत्त पन्त (२८), र कर्जा विभागका धनन्जय पन्त (३१) रहेका छन्। उनीहरू क्रमशः कैलाली, डोटी, बैतडी र दार्चुला जिल्लाका बासिन्दा हुन्।
दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर शाखाबाट २ करोड ८४ लाख ७६ हजार ७०२ रुपैयाँ २९ पैसा हिनामिना गरिएको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार ती कर्मचारीहरूले बैंकको भल्टमा रहेको नगद रकम अवैध रूपमा प्रयोग गरी बैंकलाई ठूलो आर्थिक नोक्सानी पुर्याएका थिए।
चारै जनाले मिलेमतोमा रकम हिनामिना गरेको आशंकामा जाहेरी परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
हाल जिल्ला अदालत दार्चुलाबाट ७ दिनको म्याद थप अनुमति लिएर उनीहरूविरुद्ध बैंकिङ कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

























