काठमाडौं, साउन २२ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ विर्घाका २७ वर्षीया श्यामकला पाण्डे र उनका ६ वर्षीय छोरा अर्पित पाण्डे कालीगण्डकी नदीमा बेपत्ता भएको आशंकामा खोजी कार्य तीव्र पारिएको छ ।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार बुधबार साँझदेखि उनीहरू सम्पर्कविहीन छन्। गल्याङ नगरपालिका-५ सेतिवेणीस्थित कालीगण्डकी नदी किनारमा रहेको प्रतीक्षालयमा श्यामकलाको झोला, चप्पल, मोबाइल र अर्पितको जुत्ता फेला परेकोले उनीहरू नदीमा हराएको आशंका गरिएको हो।
“सामानहरूको पहिचान उनीहरूको भएको पुष्टि भएपछि घटनास्थलमा खोजी कार्य सुरु गरिएको छ,” डीएसपी थापाले जानकारी दिए।
उनीहरू परिवारसँग पनि सम्पर्कमा नरहेकाले दुर्घटना भएको सम्भावना अझ बलियो बनेको छ। बिहीबार बिहानैदेखि सशस्त्र प्रहरी बल नेपाल नं. ३० गुल्म स्याङ्जाबाट एक टोली सशस्त्र प्रहरी निरीक्षकको कमान्डमा परिचालित भइसकेको छ।
सहप्रवक्ता थापाका अनुसार थप सहयोगका लागि पोखराबाट गोताखोर ल्याउने तयारी समेत भइरहेको छ।
सशस्त्र प्रहरी र स्थानीय प्रशासन घटनास्थलमा रहि खोजी कार्यलाई प्राथमिकता दिइरहेका छन्।
























