काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीमा अस्थिरता असाध्यै धेरै भएको र खेलोफड्को भइरहेको बताएका छन् ।
शनिबार नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित तुल्सीलाल अमात्यको २८ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले २००८ सालमा पुष्पलाललाई पार्टीको नेतृत्व गर्न नदिइएको बताए । उनलाई ००८ सालमै हराइएको ओलीले टिप्पणी गरे । उनले पुष्पलाल महासचिव बन्न नसक्दा ठीक ढङ्गले पार्टी सञ्चालन हुन नसकेको अवस्था कोट्याए ।
एमाले पार्टी निर्माण गर्न विभिन्न नेताले पुर्याएको योगदानको प्रधानमन्त्री ओलीले स्मरण गरे । ‘यसमा विभिन्न नेताहरुले योगदान गर्नुभएको छ, जसमा तुलसीलाल टाढैबाट देखिने खाल्को व्यक्तित्व, स्पष्ट देखिने खाल्को आफ्नै प्रकारको योगदान भएको व्यक्तिको रुपमा उहाँको योगदान थियो । त्यसैले उहाँलाई आज हामीले स्मरण गरिरहेका छौं, सम्मान गरिरहेका छौं ।’
कार्यकर्ता माझ ओलीले अग्रज र उनीहरुको आदर्शबाट प्रेरणा लिनुपर्ने बताए । नेताहरुले एक प्रसङ्गमा भनेका कुरा अर्को प्रसङ्गमा गएर लागू भएको उल्लेख गर्दै ओलीले पुष्पलालले संयुक्त जनान्दोलनको नीति राखेको बताए ।
पुष्पलाल र तुलसीलालका कतिपय भिजनहरु जीवनकालपछि पूरा भएको बताउँदै ओलीले अरु कतिपय अग्रजहरुका सपना आफ्ना जीवनकालपछि पूरा भएको बताए ।
























