काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)भित्रको आन्तरिक कलह सतहमा आएको छ । पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपालको कार्यशैलीप्रति टिप्पणी गर्दै उनीमाथि ‘तानाशाह’ बन्न खोजेको गम्भीर आरोप लगाएका छन्।
खनालले नेकपा (एमाले)बाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुको औचित्य पुष्टि हुन नसकेको टिप्पणी गरेपछि अध्यक्ष नेपालले प्रतिवाद गरेका थिए।
खनालको उक्त अभिव्यक्तिको प्रतिक्रियामा अध्यक्ष नेपालले सार्वजनिक रूपमै (विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै) ‘पार्टी छोडेर जानसक्ने’अभिव्यक्ति दिएका थिए।
नेपालको उक्त अभिव्यक्तिपछि शुक्रबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा खनालले अध्यक्ष नेपालको भनाइ अत्यन्तै अशोभनीय, गैरजिम्मेवार एवं तानाशाही प्रवृत्तिको भएको बताए।
उनले पार्टीभित्र रचनात्मक आलोचना र बहसको ढोका बन्द गर्न खोजिएको संकेत गर्दै आक्रोश व्यक्त गरे।

























