काठमाडौं, साउन१६ । संयुक्त राष्ट्रसंघको एक प्रमुख अङ्ग आर्थिक तथा सामाजिक परिषद् (इकोसक) को अध्यक्षमा नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा निर्वाचित भएका छन् । यो पदमा नेपाल पहिलोपटक निर्वाचित भएको हो ।
अध्यक्ष पद ग्रहण गर्दै राजदूत थापाले यो नेपालका लागि ऐतिहासिक अवसर भएको बताए। नेपाल संयुक्त राष्ट्रसंघको सदस्य बनेको ७० वर्षको अवधिमा बहुपक्षीयता (multilateralism) मा देखाएको योगदान र प्रतिबद्धताको मान्यता स्वरूप यो निर्वाचन भएको उनले बताए।
थापाले अहिलेको विश्व बहुआयामिक संकट—द्वन्द्व, जलवायु परिवर्तन, आर्थिक अनिश्चितता, गहिरिँदो असमानता, साइबर जोखिम, मानवीय सहयोगको आवश्यकता, र विकासशील देशहरूका लागि ४० खर्ब डलर बराबरको वित्तीय अभाव—बाट गुज्रिरहेको बताएका छन्। यस्तो समयमा इकोसक को भूमिका अझ महत्वपूर्ण बनेको उनले जोड दिए।
यसअघि क्यानडाका स्थायी प्रतिनिधि बब रे इकोसकका अध्यक्ष थिए। उनले एक समारोहमार्फत पद थापालाई हस्तान्तरण गरे।
संयुक्त राष्ट्रसंघका ६ प्रमुख अङ्गमध्ये एक इकोसक अन्तर्राष्ट्रिय आर्थिक तथा सामाजिक मुद्दाहरूमा सहकार्य र विकासमा केन्द्रित निकाय हो। यसमा महासभाबाट तीन वर्षका लागि ५४ सदस्य राष्ट्रहरू निर्वाचित हुन्छन्।
इकोसकले विकास, मानवअधिकार, र अल्पविकसित मुलुकको स्तरोन्नतिसम्बन्धी सिफारिसहरूलाई समन्वय गर्ने र महासभामा निर्णयका लागि प्रस्तुत गर्ने काम गर्छ।
राजदूत थापाले “कोही पनि पछि नपरोस्” भन्ने सिद्धान्त अनुसार सबै राष्ट्र र सरोकारवालाको सक्रिय सहभागिता जरुरी रहेको उल्लेख गरे।
थापासँगै चार उपाध्यक्षहरू अल्जेरियाका अमार बेन्डजामा, स्पेनका हेक्तर गोमेज हर्नान्डेज, डोमिनिक गणतन्त्रका वेलिङ्टन डारिओ बेन्कोसमे कास्टानोस, र आर्मेनियाका परुयर होभानिस्यान निर्वाचित भएका छन् ।
























