काठमाडौं, साउन १४ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताका लागि दुई जनाको उम्मेदवारी परेको छ । प्रदेश सभापति समेत रहेका इन्द्रबहादुर बानियाँ र हालका मुख्यमन्त्री बहादुरसिंह लामाले उम्मेदवारी दर्ता गराएका हुन् । यी दुवै नेताको राजनीतिक पृष्ठभूमि कांग्रेस सभापति शेरबहादुर देउवा पक्षसँग जोडिएको छ।
संसदीय दलका नेता लामाविरुद्ध बानियाँले दर्ता गराएको अविश्वास प्रस्ताव मंगलबार बहुमतले पारित भएको थियो । कांग्रेसका ३७ प्रदेश सांसदमध्ये २२ जना बानियाँको पक्षमा र १५ जना लामाको पक्षमा देखिएका थिए। अविश्वास प्रस्ताव पारित भएसँगै लामा संसदीय दलको नेताबाट हटे पनि उनी मुख्यमन्त्री पदमा भने यथावत् रहेका छन्।
निर्वाचन समितिले बुधबार बिहान कार्यतालिका सार्वजनिक गर्दै उम्मेदवारी दर्ताका लागि ११ बजेसम्मको समय दिएको थियो। सो अवधिमा बानियाँ र लामाले उम्मेदवारी दिएका हुन्।
निर्वाचन समितिका अनुसार उम्मेदवारको प्रारम्भिक नामावली बिहान ११:३० बजे प्रकाशित गरिनेछ। उम्मेदवारी फिर्ता लिन दिउँसो १२ बजेसम्मको समय तोकिएको छ।
दिउँसो १ बजे अन्तिम नामावली प्रकाशन गरिने र मतदान २ देखि ३ बजेसम्म हुने तालिका रहेको समितिले जनाएको छ।
























