काठमाडौं, साउन १४ । रुसको पूर्वी तटीय क्षेत्र कमचटका प्रायद्वीपमा बुधबार बिहान ८.८ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ विभाग (USGS) का अनुसार भूकम्पको केन्द्र पेट्रोपावलोव्स्कबाट करिब १३७ किलोमिटर पूर्व र १९ किलोमिटर गहिराइमा रहेको थियो ।
भूकम्प प्रारम्भमा ८.० मापन गरिए पनि पछि संशोधन गरेर ८.८ रेक्टर स्केल भएको पुष्टि गरिएको छ । पछिल्ला केही दशकमा रुसमा आएको यो एकदमै शक्तिशाली भूकम्पमध्ये पर्छ ।
भूकम्पपछि प्रशान्त महासागरका तटीय क्षेत्रमा सुनामीको खतरा बढेको भन्दै चेतावनी जारी गरिएको छ । यूएसजीएसले रुस, जापान, अलास्का लगायतका क्षेत्रमा आगामी तीन घण्टा भित्र खतरनाक सुनामी आउन सक्ने जनाएको छ ।
जापानको मौसम विज्ञान निकायले पनि प्रशान्त तटीय क्षेत्रमा लगभग ३.३ फिट (१ मिटर) उचाइको सुनामी लहर उठ्न सक्ने चेतावनी दिएको छ । जापानी राष्ट्रिय प्रसारक एनएचकेका अनुसार होक्काइदो प्रान्तको उत्तरपूर्वी क्षेत्रमा अवस्थित बन्दरगाह सहर नेमुरोमा झन्डै १२ इन्च उचाइको सुनामीको छाल पुगेको छ ।
सुनामीको असरलाई लिएर जापानका प्रधानमन्त्री सिगेरु इसिबाले अवस्था मूल्याङ्कन भइरहेको बताउँदै उद्धार र सुरक्षालाई प्राथमिकता दिइने बताएका छन्। उनले तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन, समुद्रकिनारबाट टाढा बस्न र सम्भव भएसम्म सुरक्षित उच्च क्षेत्रमा जान आग्रह गरेका छन् ।
अहिलेसम्म भौतिक क्षति र मानवीय हताहतको विवरण भने सार्वजनिक भइसकेको छैन । यसैबीच, अमेरिकी अधिकारीहरूले पनि अलास्का क्षेत्रलाई लक्षित गर्दै सतर्कता अपनाउन चेतावनी जारी गरेका छन् ।
स्थिति अझै विकसित भइरहेकाले थप विवरण आउन बाँकी छ ।
























