काठमाडौं, साउन ११ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सुम्पेकी छन् । पोखराको जग्गासम्बन्धी घुस डिल प्रकरणमा मुछिएकी श्रेष्ठले पार्टीको दैनिक कार्य सञ्चालनमा असहजता भएको भन्दै यो निर्णय लिएकी हुन्।
उनले केही दिनदेखि अस्वस्थ रहेको र त्यसले पार्टीका दैनिक कार्य सञ्चालनमा असहजता भएको उल्लेख गरेकी छिन् । नाउपाको विधानले अध्यक्षलाई कार्यवाहक तोक्ने अधिकार दिएकोले सोहीअनुसार बास्तोलालाई जिम्मेवारी दिएको उनको भनाइ छ।
स्मरण रहोस्, अध्यक्ष श्रेष्ठ पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल प्रकरणमा जोडिएकी छन् । सार्वजनिक अडियोमा उनले घुस मागेको सुन्न सकिने चर्चा छ र उनी केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्वर परीक्षणका लागि पुगेकी थिइन् ।
नाउपाका बहुमत केन्द्रीय सदस्यहरूले अध्यक्षलाई २४ घण्टे अल्टिमेटमसहित केन्द्रीय समिति बैठक बोलाउन माग गरेका थिए । यदि बैठक नबोलाएमा साउन ११ गते दिउँसो २ बजे केन्द्रीय समिति बैठकबाट थप निर्णय लिने चेतावनी उनीहरूले दिएका थिए । तर, २४ घण्टाभित्र केन्द्रीय समिति बैठक आह्वान नगरी अध्यक्ष श्रेष्ठले विधानको सुविधा प्रयोग गर्दै कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी हुन् ।

























