काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। बुधबार बसेको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
सरकारमा सहभागी हुने चर्चा चलिरहेका बेला जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो। दुई दिनअघि मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष यादवसहित सत्तारुढ दलका शीर्ष नेताहरूसँग छलफल गरेका थिए। सोही छलफलमा जसपा नेपाललाई सरकारमा सहभागी गराउने प्रस्ताव गरिएको चर्चा चलेको थियो।
एमाले अध्यक्ष ओली नेतृत्वको सरकारले गत ३० असारमा एक वर्ष पूरा गरेको थियो। हालैमात्र नागरिक उन्मुक्ति पार्टीले पनि ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। नागरिक उन्मुक्ति पार्टीबाट सरकारमा सहभागी भएका पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले राजीनामा पनि दिइसकेका छन्। तर, प्रधानमन्त्री ओलीले उनको राजीनामा स्वीकृत गरेका छैनन्। स्रोतका अनुसार प्रधानमन्त्री ओलीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसँग छलफल गरेर सरकारमा सहभागी हुन आग्रह गरेका थिए।

























