काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार योजनाविहीन, गैरजवाफदेही र निष्क्रिय भएको आरोप लगाएका छन् । संसदमा विशेष सम्बोधन गर्दै उनले देशले आर्थिक अवसर गुमाएको र विकासको गति सुस्त भएको दावी गरेका छन् ।
वर्तमान कांग्रेस–एमाले गठबन्धन सरकारमाथि तीव्र आलोचना गर्दै उनले भने ‘सरकार सत्ताको संख्यामा मात्रै होइन, जनविश्वासमा पनि बलियो हुनुपर्छ – जुन वर्तमान गठबन्धन सरकारबाट हराएको छ ।’
उनले सरकारले एक वर्षमा आम जनताको मात्र होइन, आफ्नै सत्तारूढ दलका कार्यकर्ताको पनि विश्वास गुमाएको टिप्पणी गर्दै भने, “जनता सडकमा छन्, राष्ट्रसेवक कार्यालय बन्द गर्ने चेतावनी दिइरहेका छन्, चिकित्सक आन्दोलनरत छन्, शिक्षकहरू आन्दोलनमा छन्, तर सरकारले कसको विश्वास जित्न सक्योरु कुन वर्ग लाभान्वित भयो ?”
प्रचण्डले सरकारप्रति गम्भीर आरोप लगाउँदै दलाल पुँजीपतिहरू र बिचौलियाले राज्यको स्रोत दोहन गरिरहेको दाबी गरे । उनले स्टक एक्सचेन्जको नयाँ लाइसेन्स वितरण, सुरक्षा निकायको हतियार खरिद, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण, सरुवा–नियुक्तिमा चलखेललगायत विषय उल्लेख गर्दै सरकार ‘कमिसन र डिलको भरमा’ चलेको आरोप लगाए ।
कांग्रेस स्वर्ग र नर्कको गोलचक्करमा
कांग्रेस–एमाले गठवन्धनलाई अप्राकृतिक भन्दै उनले भने, “कांग्रेस स्वर्ग र नर्ककै गोलचक्करको पासोमा पर्यो । दुई ठूला दलको सत्ता गठबन्धनले निरंकुशता र अहंकारको व्यवहार देखायो ।”
प्रचण्डले आर्थिक मोर्चामा सरकार पूर्णतः असफल भएको टिप्पणी गरेका छन् । उनले भने “रेमिट्यान्स वृद्धि भएको देखाएर उपलब्धिको भ्रम फैलाइएको छ, तर त्यो रोजगारी सिर्जना नभएकोले युवा विदेशिन बाध्य हुँदा मात्र हो ।,”
उनका अनुसार ब्याजदर घट्दा पनि कर्जा प्रवाह हुन नसकेको, बैंकमा ६–७ खर्ब रुपैयाँ थुप्रिएको, पुँजी पलायन र बचत निरुत्साहित हुने अवस्था आउनुले सरकार स्रोत साधनको सदुपयोग गर्न चुकेको देखिन्छ ।
रंगशालाबाट फ्लडलाइटै हरायो
प्रचण्डले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको उदाहरण दिँदै सरकारको असक्षमता र अस्थिर योजनामाथि कटाक्ष गरेका छन् । “मेरो सरकारले फ्लडलाइट जडानको ठेक्का सम्झौता गरिसकेको थियो । नयाँ सरकारले ३०० दिनभित्र काम सक्ने घोषणा गर्यो । आज एक वर्ष पुग्दा न फ्लडलाइट जोडियो, न प्याराफिट बन्यो,” उनले भने ।
उनले सुनकोशी–मरिन डाइभर्सन, महाकाली करिडोरलगायतका योजनाको प्रगति अत्यन्त न्यून रहेको भन्दै सरकारले विकासको प्राथमिकता तय गर्न नसकेको बताए। “कतिपय आयोजनामा १० प्रतिशत प्रगति पनि नपुगेको छ,” उनले आरोप लगाए ।