काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणबारे उठेका विषयमा प्रष्ट पारेको छ। बुधबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको भ्रमणबारे उठेका विषय भ्रामक र आधारहीन भएकाले विश्वास नगर्न र गलत प्रचारप्रति सजग रहन अनुरोध गरेको हो।
स्पेनको सेभिया सहरमा आयोजित ‘विकासका लागि वित्त’ चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी नेपाली प्रतिनिधिमण्डलका विषयमा देखिएका केही भ्रामक तथा तथ्यहीन सामग्रीप्रति ध्यानाकर्षण भएको मन्त्रालयले उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ,‘द्विपक्षीय, क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको प्रतिनिधित्व आवश्यक परेको अवस्थामा अन्तर्राष्ट्रिय प्रचलन, सरकारको दायित्व एवम् भूमिका, राष्ट्र हितको प्रवर्द्धन र मितव्ययितासमेतका आधारमा स्थापित व्यवस्थाअनुरुप नेपाल सरकार (मन्त्रिपरिषद्) बाट निर्णय हुने गरेको ब्यहोरा अवगतै छ।
जसअनुसार गत ३० जुनदेखि ४ जुलाई २०२५ सम्म सम्पन्न विकासका लागि वित्त सम्मेलनमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यू नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी भएको र सो प्रतिनिधिमण्डलका सम्पूर्ण सदस्यहरू स्वदेश फर्किसक्नुभएको विदितै छ।’
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भिजिट भिसा र प्रधानमन्त्रीको स्पेन भ्रमणमा गएर केही व्यक्ति नफर्किएको भन्दै मंगलबार संसदमा विषय उठाएको थियो। रास्वपा सांसद सोविता गौतमले मंगलबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणका क्रममा केही व्यक्तिलाई स्पेनमै छाडेको बताएकी थिइन्।
तर बुधबार बसेको प्रतिनिधिसभा बैठकमा गौतमले आफ्नो अभिव्यक्ति सच्याएकी छन्। यस्तै यसको जवाफमा गृहमन्त्री रमेश लेखकले रास्वपाका सभापति रवि लामिछाने भिजिट भिषामा अमेरिका गएका हुन् कि होइनन् भनेर प्रश्न गरेका छन् ।