काठमाडौं । नेपाल एसीसी यू-१६ इस्ट जोन कपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार सम्पन्न सेमिफाइनल खेलमा मलेसियामाथि ९ विकेटको सहज जित निकाल्दै नेपाल उपाधिनजिक पुगेको हो ।
टस हारेर फिल्डिङमा झरेको नेपालले उत्कृष्ट बलिङ प्रदर्शन गर्दै मलेसियालाई ४३.१ ओभरमै ९० रनमा समेट्यो । मलेसियाका लागि मुहम्मद फातुल मुइनले सर्वाधिक ३८ रन बनाए भने कप्तान दियाज पात्रोले १० रनको योगदान दिए। अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
नेपालका बलरहरूमध्ये अभय यादव सबैभन्दा सफल रहे। उनले १० ओभरमा १५ रन दिँदै ४ विकेट लिए। सुभम खनालले १० ओभरमा ४ मेडन राख्दै १२ रनमा ३ विकेट लिएका थिए। कप्तान विपिन प्रसाद शर्मा र सचिन भट्टले पनि १–१ विकेट लिए ।
९१ रनको लक्ष्य पछ्याउँदै नेपालले ११.४ ओभरमै १ विकेटको क्षतिमा लक्ष्य हासिल गर्यो। परिमार्जन यादवले धमाकेदार प्रदर्शन गर्दै ३५ बलमा अविजित ५९ रन बनाए । शिवांश बजगाईंले पनि अविजित रहँदै २३ रनको योगदान गरे ।
अब नेपालले उपाधिका लागि हङकङ र सिंगापुरबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।