काठमाडौं । नेकपा एकीकृत समाजवादीले नेतृ रामकुमारी झाँक्रीलाई पार्टी नेतृत्वविरुद्ध सार्वजनिक अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण सोधेको छ ।
पार्टी सचिव सोमप्रसाद पाण्डेका अनुसार झाँक्रीलाई तीन दिनभित्र लिखित जवाफ दिन निर्देशन दिइएको हो । “उहाँको अभिव्यक्तिप्रति पार्टी अनुशासन आयोगले स्पष्टीकरण मागेको छ,” पाण्डेले जानकारी दिए ।
गत शनिबार झाँक्रीले पार्टी नेतृत्वमा व्यापक पुनर्गठनको आवश्यकता रहेको भन्दै सार्वजनिक रूपमा असन्तोष व्यक्त गरेकी थिइन् । उनले पतञ्जलि जग्गा प्रकरणमा अध्यक्ष माधवकुमार नेपालको संलग्नता औंल्याउँदै अबको दिशा नयाँ नेतृत्वबाट तय गर्नुपर्ने धारणा राखेकी थिइन् ।
झाक्रीले भनेकी थिइन्, ‘कहाँ हुन्छ यसरी ? म त भन्छु- अब अर्ली महाधिवेशन गरौँ । कानुनी, संवैधानिक हिसाबले अध्यक्षमाथि संकट आयो । अरू कैयौँ पार्टीका सदस्यमाथि पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन । होइन भने, हामी सुध्रिने हो भने नयाँ ढंगले जानको लागि केही डिपार्चर गर्नुपरेन ? अर्ली महाधिवेशन गरौँ, हलबाट नेतृत्व छानौँ । तपाईंमध्ये जो कोही पनि नेतृत्वमा आउन सक्छ ।’ उनको यस्तो अभिव्यक्तिले पार्टीभित्र चर्को असन्तोष सिर्जना गरेको छ ।
पार्टीले झाँक्रीको अभिव्यक्तिलाई अनुशासन विपरीत ठहर गर्दै उनलाई औपचारिक रूपमा जवाफ दिन आग्रह गरेको छ । “अब उहाँको जवाफ आएपछि पार्टीले आवश्यक निर्णय लिन्छ,” सचिव पाण्डेले भने ।
झाक्रीको अभिव्यक्ति र पार्टीको तीन दिने अल्टिमेटमसहितको स्पष्टिकरणले नेकपा एसभित्र आन्तरिक संकट गहिरिँदै गएको देखिन्छ।

























